काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भनेर काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ।
बिहीबारदेखि जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आइतबारदेखि थप कडाइका साथ नियमन गरिने जनाइएको छ। निषेधाज्ञा जारी भएपछि बिहीबार, शुक्रबार र शनिबारको अवस्थाको समीक्षा गरी थप कडाइका लागि निर्णय लिन आइतबार उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको समीक्षा गर्न निषेध आदेशलाई थप कडाइका साथ पालना गराउने सन्दर्भमा आवश्यक निर्णय गर्न आइतबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको बताए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पनि निषेधाज्ञा थप कडाइ गर्ने सन्दर्भमा आवश्यक निर्णय गर्न आइतबार बैठक बस्न लागेको जानकारी दिए।
निषेधाज्ञाको पहिलो दिन बिहीबार र दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा अनपेक्षित भिड देखिएको भन्दै विभिन्न निकायले गृह मन्त्रालयमा ब्रिफिङ गरेको थियो।
स्थानीय तहहरुले समेत निषेधाज्ञामा थप कडाइ गरिनुपर्ने भनेपछि गृह मन्त्रालयले शुक्रबार नै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको पालनको सन्दर्भमा स्थलगत निरीक्षण गर्न भनेको थियो।
गृह मन्त्रालयको निर्देशनपछि शनिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली आफैं सडकमा निस्किएर निषेधाज्ञाको पालनाको सन्दर्भमा निरीक्षण गरेका थिए।
शनिबार भने शुक्रबार र बिहीबारको तुलनामा सडकमा केही कम भिड देखिएको प्रजिअ पराजुलीले बताए। शनिबार बैंक तथा बित्तीय संस्था र सरकारी कार्यालयहरु बन्द हुने भएकाले सडकमा भिड कम भएको प्रजिअ पराजुलीको बुझाइ छ।
अब, निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयका १ चौथाइ कर्मचारीलाई मात्र काममा परिचालन गर्ने निर्णय हुने उनले बताए।
काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते सकिँदैछ। तर, मन्त्रिपरिषदको बैठकले थप १ साता निषेधाज्ञा जारी गर्ने निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।