काठमाडौं- अस्पतालको शवगृह नजिकै नेपाली सेनाको शव वाहन थियो। शव वाहनसँगै पीपीई सेट लगाएका सेनाको टोली थियो।
उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव लैजान शव वाहनसहित त्यहाँ पुगेका थिए।
'पाँचवटा रहेछ कुन अगाडि लिएर जाने?,’ टोलीका एक सैनिकले सहकर्मीलाई सोधे।
'आफन्त भएका र शव लैजाने अनुमति पाइसकेकालाई पहिले लैजाऊ, बाँकी पालै-पालो लैजाउँला,' टोलीमा खटिएकामध्येका वरिष्ठ सैनिकले जवाफ दिए।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार देखिएको दृश्य हो यो। अस्पतालमा बुधबार साँझ र बिहीबार बिहान गरी पाँच जना संक्रमितको मृत्यु भएको थियो। ती शव व्यवस्थापनका लागि अस्पतालले नेपाली सेनाको टोली बोलाएको थियो। काठमाडौं उपत्यकाका अस्पतालहरुमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ।
०००
कोरोनाको दोस्रो लहर फैलिएसँगै अस्पतालहरुमा यस्ता कहालिलाग्दा दृश्यहरु बढ्दै गएका छन्। यसपटक संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि उच्च बन्दै गएको छ। अस्पतालमा धान्नै नसक्नेगरी संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको त्रिवि शिक्षण अस्पतालका अधिकारीहरु बताउँछन्।
'अवस्था एकदमै भयावह बन्दै छ,' अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने, 'अहिले त एउटा-एउटा गरेर शव लगिरहेका छन्, कुन दिन यसरी व्यवस्थित तरिकाले लैजान पनि सम्भव हुँदैन कि भन्ने लाग्न थालिसक्यो।'
उनका अनुसार पहिले अस्पतालमा भेन्टिलेटर आईसीयूमा भएका संक्रमित निको भएर फर्किन्थे। मृत्युको केस कम थियो। एकै ठाउँमा पाँचवटा शव थुप्रिएको देखाउँदै उनले अवस्था भयावह हुने संकेत देखापरेको बताए।
प्रवक्ता अधिकारीले कोरोना संक्रमित राख्ने वार्ड, आईसीयू तथा अन्य बिरामी राखिएका ठाउँदेखि संक्रमितको व्यवस्थापनका लागि थप गर्न लागिएको नयाँ भवनको अवस्थासम्म देखाए। कोरोना संक्रमितसँगै अन्य रोगका बिरामीलाई पनि उपचार सेवा नरोकिएको उनले बताए। अस्पतालको नियमित सेवामा भर्ना भएर उपचारत बिरामीलाई पनि सेवा दिइरहेको उनको भनाइ छ।
०००
त्यसो त शिक्षण अस्पतालमा सामान्य अवस्थामा हुने जस्तो भीडभाड थिएन। कोरोनाबाहेक अन्य रोग तथा समस्याको अत्यावश्यक सेवा लिन आइपुगेका बिरामी र बिरामी कुरुवा भने अस्पताल परिसरमा देखिन्थे।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको नयाँ भवनमा कोरोना संक्रमितका लागि आईसीयू बेडको व्यवस्थापन गरिएको थियो। सबै बेड संक्रमितले भरिएका थिए।
‘अहिले त बेड खाली नै छैन,’ ड्युटीमा खटिएकी एक नर्सले भनिन्।
कोरोना संक्रमितलाई राखिएको ठाँउ छुट्टै छ। आईसीयू प्रस्ट देखिनेगरी नर्सिङ स्टेसन रहेको छ। नर्सहरु एन्-९५ मास्कमाथि सर्जिकल मास्क लगाएर अस्पतालकै पोसाकमा खटिएका देखिन्थे। उनीहरुले पीपीई लगाएका थिएनन्।
‘यहाँ बस्दा पीपीई लगाउनु पर्दैन?,’ ड्युटीमा रहेकी एक नर्सले भनिन्, ‘संक्रमितलाई सेवा गर्न जाँदामात्र पीपीई लगाउछौं। यहाँ बाहिर स्टेसनमा बस्दाचाँहि लगाउँदैनौं।’
अस्पतालको पेडियाट्रिक सर्जरी भवनमा केही दिनअघि मात्र अक्सिजनसहितको २२ बेड र अर्को ३० वटा आइसोलेसन वार्ड थप गरिएको थियो। २२ बेडमध्ये करिब १० बेड एचडीयू हुन्। ती सबै बेड संक्रमितले भरिसकेका थिए।

कोरोना संक्रमित सुतिरहेको बेड छेउमा कुरुवा पनि मास्क र फेससिल्ड लगाएर बसिरहेका थिए। कतिपय संक्रमितसँग त दुई जनासम्म कुरुवा बसिरहेका थिए।
‘यहाँ दुईजना बस्न पाइँदैन, तपाईंहरुलाई पनि कोरोना सर्नसक्छ, एकजना मात्र बसिदिनुस्,’ ड्युटीमा खटिएका नर्सहरुले बिरामी कुरुवालाई बाहिर जान आग्रह गर्दै थिए।
कतिपय कुरुवाहरु अटेरी पनि देखिए। केही समयपछि वार्डमा खटिएका सुरक्षागार्ड आएर दुईजना बसेका कुरुवाहरुलाई आइसोलेसन वार्डबाट बाहिर निकाले।
‘संक्रमितसँगै कुरुवा दुईजना नबस्नुस् भन्छौं, मान्नुहुन्न,’ एकजना नर्सले दिक्क मान्दै भनिन्, ‘भन्दा-भन्दा हैरान हुन्छौं, कोरोनाको डरै लाग्दैन कि के हो खै?’ निलो कलरको डिस्पोजेबल फुलगाउन लगाएकी दुईजना नर्स अक्सिजन सपोर्टमा राखिएका बिरामीको हेरचाहमा खटिएका थिए। वार्डमा हिँड्न पनि उनीहरुलाई असहज भएको देखिन्थ्यो।
‘असजिलो त छ नि! के गर्नु अस्पतालमा यस्तै गाउन छ, हामीले आफ्नो सजिलोभन्दा पनि बिरामीको केयरमा ध्यान दिएका छौं,’ यति भनेर उनी मुस्कुराउँदै अर्को वार्डका बिरामीतर्फ लागिन्।
स्वास्थ्यकर्मी नै संक्रमित
पीपीईमै ड्युटीमा खटिएकी नर्स मनिषा अधिकारीले आफूलाई गाह्रो भए पनि बिरामीको केयरमा केन्द्रित हुने गरेको सुनाइन्। ‘आठ घण्टाको सिफ्टमा छ घण्टा त पीपीई लगाउनुपर्छ, आफ्नो सुरक्षाको लागि लगाउनैपर्छ,’ उनले भनिन्, ‘गर्मी महिना छ, पसिना आउँछ, गाह्रो हुन्छ। सिफ्टभरि खाना खान पाइँदैन, पिसाब गर्न जान पाइँदैन, आफूलाई प्रिपेयर गरेर बिरामीको केयर गर्नुपर्छ भन्ने भावले कन्ट्रोल गरेर काम गर्नुपर्छ।’
पेडियाट्रिक सर्जरी भवनमा रहेको कोभिड वार्डकी नर्सिङ अफिसर सरला केसीले अस्पतालमा पर्याप्त मात्रामा पीपीई उपलब्ध नभएको गुनासो गरिन्।
‘हामीसँग फुल पीपीई त छैन, डिस्पोजेबल छ। बिरामी हेर्न जाने दुईजना नर्सले त्यही लगाउनुहुन्छ,’ उनले भनिन्, ‘बिरामीको चाप बढिरहेको छ, आवश्यक मात्रामा सामग्री पाएका छैनौं। तर, नपाउँदा पनि बिरामीलाई केयर गरिहेका छौं।’
उनले नर्सहरुलाई बिहान र दिउँसोमा ड्युटी गर्नेलाई आठ घण्टा र रातिको ड्युटीमा रहनेले १२ घण्टाको ड्युटी अवधि रहेको सुनाइन्।
अस्पतालमा खटिएका नर्सहरु पनि संक्रमित भइरहेको र बिरामीको चापअनुसार नर्सिङ स्टाफ कम रहेको केसीले बताइन्। ‘अहिले हाम्रो बहिनी (नर्स)हरु पनि संक्रमित भइरहेका छन्। संक्रमित भएपछि लक्षण नभए पनि उनीहरु १० दिन आइसोलेसनमा बस्छन्, त्यसले गर्दा पनि नर्सिङ जनशक्ति कमी हुन आउँछ,’ केसीले भनिन्, ‘हामीसँग जनशक्ति त छ तर बिरामीको चापअनुसार पर्याप्त छैन।’
अघिल्लो वर्ष कोरोना संक्रमतिको उपचारमा खटिएका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई अस्पतालले आवासको व्यवस्था तथा होटल क्वारेन्टिनमा राखेको थियो। तर, अहिले संक्रमितको स्वास्थ्य उपचारमा खटिने चिकित्सक तथा नर्सहरु आफ्नो घरमै जान्छन्। काठमाडौंमा निशेधाज्ञा लागू भएपछि अस्पतालले यातायातको व्यवस्था गरेको छ। तर, अस्पतालमा धेरै कर्मचारी भएकाले अस्पतालले व्यवस्था गरेको सवारीसाधनमा धेरै भीड हुने गरेको नर्स केसीको भनाइ छ।
संक्रमितको चाप सुनामी लहरमा बढ्दै
त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिँदै आएका सहप्रध्यापक एवं छातीरोग विशेषज्ञ डा. निरज बमले कोरोना संक्रमितको चाप सुनामीको लहर जसरी आएको बताए।
‘हामीले संक्रमितका लागि जति बेड थप गर्छौं, थप भएकै दिन संक्रमितले भरिन्छ,’ डा. बमले भने, ‘संक्रमण अहिले सुनामीको लहर जसरी आइरहेको छ, अबका दिन भयावह हुनसक्छ।’
अस्पतालका कोभिड व्यवस्थापन समितिका सदस्यसमेत रहेका उनले सुरेश वाग्ले क्यान्सर सेन्टरमा ५० बेड थप गर्न लागिएको बताए। कोरोना संक्रमितको चाप बढ्दै गए अन्य सेवाहरु सञ्चालन भइरहेका भवनहरुमा पनि कोरोना संक्रमितलाई उपचार व्यवस्थापन गर्ने तयारी भइरहेको उनको भनाइ छ।

‘हाम्रो क्षमताले धान्ने परिस्थितिभन्दा बाहिर छ संक्रमितको चाप, अघिल्लो वर्षको भन्दा भयावह अवस्था आइसकेको छ,’ डा. बमले भने, ‘लक्षण देखिएर परीक्षण गराएका अघिकांशमा संक्रमण देखिएको छ।’
उनले नेपालमा पनि कोरोना संक्रमणको अवस्था भारतको जस्तै हुनसक्ने बताए। ‘भारतमा अहिले अक्सिजन, जनशक्ति, शय्या अभावको अवस्था छ। भारतले अहिले अभाव नै अभाव झेलिरहेको छ, त्यो अवस्था हामीकहाँ पनि आउँछ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘हामीले पनि पीपीईको अभाव झेलिरहेकै छौं।’
डा. बमले आगामी दिनमा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमणको दर बढ्नसक्ने औंल्याए। ‘हामीले मास्कको प्रयोग र दूरी कायम गर्ने काम त गरीरहेका छौं तर हाम्रो पनि आकलन के छ भने आगामी दिनमा हाम्रा स्वास्थ्यकर्मीहरु संक्रमित हुने सम्भावना धेरै छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी संक्रमित भएमा जनशक्ति अभाव हुने निश्चित छ।’

आगामी दिनमा संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्यकर्मी अभाव हुने देखिएमा अस्पतालले लक्षण नभएका कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत काममा खटाउनुपर्ने अवस्था आउनसक्ने उनले बताए। उनले भने, ‘हामीले तयारी गरिरहेका छौं, स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण बढेर अभावको अवस्था आयो भने लक्षण नदेखिएका स्वास्थ्यकर्मीलाई समेत खटाउने योजना बनाएका छौं।’
डा. बमले कोरोना संक्रमितको चाप बढ्दै गए अन्य वार्डहरुलाई मर्ज गर्दै कोभिड वार्ड बनाएर त्यहाँका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचारमा व्यवस्थापन गरिने योजना रहेको बताए।
‘हामीले ३०० बेडमा संक्रमितको उपचार गर्ने लक्ष्य लिएका छौं, त्यो हुँदा संक्रमितको प्रत्येक बेडमा पुगेर हाम्रो जनशक्तिले औषधि, खाना खुवाउन भ्याउँदैनन्,’ उनले भने, ‘त्यसैले एउटा बिरामीलाई एकजना कुरुवाले भौतिक दूरी कायम गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पालना गरेर खाना खुवाउने तथा सामान्य औषधि खुवाउने गरिदिनुस् भनेर हामीले आग्रह गर्यौं।’
उनले संक्रमित थपिँदै जादा कम जनशक्तिले धेरै बिरामीलाई धेरै सेवा दिन पर्ने अवस्था भएको बताए। सघन उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गरिए पनि अन्य वार्डमा उपलब्ध नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।