काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको निर्णयविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदनसहित सर्वोच्च पुगेका छन्।
बस्न्यातका तर्फबाट उनका छोरी ज्वाईं प्रज्वल अधिकारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। आफू मुटु रोगलगायत अन्य रोगको समेत बिरामी भएको र कोभिडको अवस्था बढ्दै गएकोले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने उनले माग गरेका छन्।
बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरि व्यक्तिको नाममा ल्याउन प्रमुख भूमिका खेलेको अभियोगमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
विशेषको आदेशविरुद्ध उनले माघ २ गते निवेदन दिएका थिए। उनको निवेदनमा सर्वोच्चले सुनुवाइ गरेर मिसिल झिकाउने आदेश गरेको छ। सर्वोच्चले धरौटीमा रिहा गर्ने आदेश नगरेपछि बस्न्यातका तर्फबाट ज्वाईंले बन्दीको निवेदन दिएका हुन्।
विशेष अदालतले उनलाई धरौटीमा नछोडी थुनामा पठाउने आदेश गरेको थियो। मंसिर १८ गते विशेष अदालत उपस्थित भएका बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी र जग्गा खरिद बिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।