काठमाडौं– कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकी पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत शाहलाई विहीबारबाट प्लाज्मा थेरापी विधीबाट उपचार थालिएको अस्पतालले जनाएको छ। बुधबार साँझदेखि आइसीयूमा सार्दै शाहलाई ‘हाई फ्लो’ अक्सिजनको सहायतमा राखिएको थियो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ,‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसीयूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ।’
नर्भिकमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको र उनी पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेको अस्पतालले जनाएको छ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ। पूर्वराजपरिवारका तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किका पूर्व राजा रानीमा संक्रमण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।