काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ।
भेटका क्रममा उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल भएको छ। राजदूत होङसँगको भेटमा मन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताए।
विश्वविद्यालयहरुमा साझेदारी गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रवृत्ति, भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा समेत गरे।
मन्त्री पाखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणबाट शिक्षा क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको मन्त्री पोखरेलले बताए।
मन्त्री पोखरेलसँगको भेटमा राजदूत होङले नेपालको शिक्षा क्षेत्रको विकासका लागि चिनियाँ सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चीन सरकार सधैं सहयोग गर्न तयार रहेको राजदूतको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।