काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) एक भएर जाने भएका छन्।
मुख्यमन्त्रीविरुद्ध चार दलले हस्ताक्षर गरिसकेकाले त्यसबाट दायाँबायाँ नहुने कांग्रेस सांसद कुमार खड्काले बताए। ‘अहिलेसम्म कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सबै सांसदहरू एक ढिक्का छौं' खड्काले नेपाल लाइभसँग भने, ‘राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपनि मुख्यमन्त्रीविरुद्ध मत जाहेर गर्ने सहमति भइसकेको छ। पार्टी केन्द्रले गरेको निर्णय अक्षरस: पालना गर्छौं भन्नु भएकाले विश्वस्त छौं।’
गण्डकी प्रदेश सभाका कुल ६० सदस्यमध्ये सरकार बन्न ३१ जना भए पुग्छ। एमालेका २८ जना सांसद छन्। त्यसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्रै छन्। एमाले सांसदले मात्रै गुरुङको सरकार जोगिने स्थिति छैन। मुख्यमन्त्रीविरुद्ध कांग्रेसका १५ जना, माओवादीका ११ जना, जनमोर्चाका ३ र जसपाका २ जना छन्।
चार पार्टी एक भएमा सरकार बन्ने अवस्था छ। त्यसमा एक जना सांसदले तलमाथि गरेमा अर्को सरकार बन्ने बाटो बन्द हुने देखिएको छ। यसअघि कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा संसद् सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ।
गण्डकीमा सबैभन्दा बलियो मानिएका मुख्यमन्त्री नेकपा विभाजनपछि अप्ठ्यारोमा छन्। उनले जनमोर्चाले अन्तिममा साथ दिने अपेक्षा गरेका छन्। तर, जनमोर्चाले साथ नदिने बताइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।