काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर विभाजनकै संघारमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) अहिले भावी सत्ता समीकरणको विषयमा अनिर्णित बनेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सरकारको नेतृत्वका लागि पहलकदमी लिन आनाकानी गरेपछि जसपाको एउटा पक्ष प्रधानमन्त्री ओलीसँग नजिकिएको छ।
अध्यक्ष महन्थ ठाकुरसहित साबिकको राजपाबाट प्रतिनिधित्व गर्ने नेताहरु प्रधानमन्त्री ओलीले आफूहरुका माग पूरा गर्ने बताइरहेका छन्। माग पूरा हुने अवस्थामा ओलीलाई नै साथ दिनुपर्ने उनीहरुको अडान छ।
अर्का अध्यक्ष उपेन्द्र यादवसहित साबिकको समाजवादी पार्टीका नेताहरु भने ओलीलाई जसरी पनि सत्ताबाट हटाउनुपर्ने अडानमा छन्। यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भावी सत्ता समीकरणका लागि कांग्रेस र माओवादी केन्द्रसँग निरन्तर छलफलमा छन्। तर, उनीहरुले पनि अपेक्षित नतिजा हात पार्न सकेका छैनन्।
ओलीलाई सहयोग गर्नुपर्ने लाइनमा रहेको महन्थ–राजेन्द्र महतो समूह र ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्नुपर्ने अडानमा रहेको बाबुराम–उपेन्द्र समूह तत्कालै कुनै ठोस निर्णय लिने अवस्थामा छैन।
अहिले नै ठोस निर्णय गरेर जाँदा पार्टी नै विभाजन हुने स्थिति देखिएपछि जसपाका प्रदेशदेखि केन्द्रसम्मका नेताहरुले आफ्नै तरिकाले निर्णय गरेर अभ्यास जारी राखेका छन्। यसअघि चैत ५ गते जसपाको कार्यकारिणी समितिको बैठकमा समेत ओली सरकारलाई समर्थन गरेर जाने वा नजाने विषयमा नेताहरुवीच मत विभाजित हुँदा बैठक नै स्थगित गरिएको थियो। त्यही विषयलाई लिएर जसपा पदाधिकारी बैठकमा लामो समयसम्म छलफल चलेपनि कुनै निर्णय हुन सकेन।
पछि पदाधिकारीलाई निर्णय गर्ने कुनै अधिकार नभएको भन्दै अधिकारप्राप्त कार्यकारिणी समितिमा छलफल गरेर निर्णय गर्ने बताइएको थियो। तर, अहिलेसम्म जसपाले कार्यकारिणी समिति बैठक बोलाएर निर्णय गर्न कुनै तत्परता देखाएको छैन।
सरकारले जसपाका अधिकांश माग पूरा गर्ने भएकाले सरकारमै जाने वा बाहिर बसेर समर्थन गर्ने भन्ने विषयमा निर्णय गर्न मात्रै वाँकी रहेको तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट प्रतिनिधित्व गर्ने जसपाका एक शीर्ष नेताले बताए। ‘सरकार पक्ष र हाम्रो पार्टीबीच कार्यदलस्तरमा निरन्तर छलफल र संवाद चलिरहेको छ। सरकारले माग पूरा गर्नेमा ढुक्क हुँदै जाने वातावरण बन्दै गएको छ। जसपाका माग पूरा हुनेवित्तिकै निर्णय गरेर सरकारलाई समर्थन गर्छौ,’ ती नेताले भने। ओली सरकारले माग पूरा गरेको अवस्थामा जसपा विभाजन नहुने ती नेताले दाबी गरे।
जसपाको बाबुराम–उपेन्द्र समूह भने आफ्नै पार्टीको अर्को समूहबाट अगाडि सारिएका माग सरकारले पूरा गर्ने अवस्था बने के–कस्तो निर्णय गर्ने भन्ने विषयमा स्पष्ट छैन। उक्त समूह अहिलेका लागि 'पर्ख र हेर'को स्थितिमा देखिन्छ।
संविधान संशोधन, विभिन्न नेता–कार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लगायतका मागका सन्दर्भमा छलफल गर्न जसपाले गठन गरेको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण सरकारले कुनै माग सम्बोधन नगरेको बताउँछन्। ‘सरकारले जसपाका कुनै माग पूरा गरेको छैन। मन्त्रिपरिषद्बाट २२ वटा घटनाका २ सय १० जनाको मुद्दा फिर्ता लिने भन्ने थियो, त्यो पनि फिर्ता भएको छैन,’ कर्णाले भने, ‘तर सरकार र जसपाबीच छलफल सकारात्मक रुपमा अघि बढेको छ। हाम्रा माग पूरा हुनेमा विश्वस्त छौं।’
आफूहरुले उठाएका माग पूरा भएपछि मात्रै सरकारमा जाने वा बाहिरै बसेर समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिने कर्णको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।