काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अनुमति लिएर पनि काम नगर्ने जलविद्युत् आयोजनाको इजाजत खारेज गर्ने बताएका छन्।
मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पुनले अनुमति लिएर आयोजना नबनाउने प्रवृत्तिको सरकारले अन्त्य गर्ने बताए। उनले झोलामा खोला बनाउने अवस्था आउन नदिन निश्चित मापदण्ड बनाइने र सोही आधारमा अनुगमन गरी आयोजनाको इजाजत खारेज गरिने बताए।
मन्त्री पुनले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयर सदस्य बनाउनुका साथै जलस्रोतमा आधारित समृद्धिको हिस्सेदार बनाउने नीति लिइएको पनि उल्लेख गरे।
सरकारले नयाँ जनादेशमा टेकेर नीति तथा कार्यक्रम ल्याएकाले निर्धारित समयमा सबै प्रतिबद्धता पूरा हुने दाबी समेत उनले गरे। यो आर्थिक वर्षलाई सरकारले आर्थिक समृद्धिको लागि प्रस्थान विन्दुको रुपमा लिएको उल्लेख गर्दै मन्त्री पुनले नीति तथा कार्यक्रममा उल्लेख भएका प्रतिबद्धता पूरा हुने आश्वासन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।