काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सांसद्हरुलाई सोधिएको स्पष्टीकरणबारे उपयुक्त समयमा आवश्यक निर्णय गर्ने बताएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा स्पष्टीकरणको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएको उनले बताए। यसअघिकै बैठकले स्पष्टीकरणको बारेमा छलफल गरेर आवश्यक प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जाने उनको भनाइ छ।
'अलिकति स्थितिको हामीले समीक्षा गर्यौं। अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस पनि भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षले ल्याउने त धेरै ठूलो कुरा भएन। तर. कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयास हुँदै गरेका छन्। तिनीहरुको बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौं। आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्छौं।'
गत वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि ७ गते नै २७ जना सांसद्हरुलाई दुई र तीन दिनको अवधि दिएर स्पष्टीकरण सोधिएको थियो। माधवकुमार नेपाल पक्षका ती सांसद्हरुलाई कारबाही गर्ने ओलीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।