काठमाडौं- जनमत पार्टीले वडा स्तरसम्मै निर्वाचन लक्षित कार्यक्रमहरु चलाउने भएको छ।
वैशाख ९ र १० गते धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले वडा स्तरसम्मै प्रचार प्रसारका कार्यक्रमहरु चलाउने निर्णय गरेको हो।
शनिबार प्रकाशित विज्ञप्ति अनुसार, पार्टीले हरेक वडामा निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम दर्ता गराउने अभियान चलाउने छ।
त्यस्तै, बैठकले पार्टीका विशेष समितिहरु, भ्रातृ संगठन, मोर्चा तथा विभागहरुको पुनर्गठन गर्ने तथा विभिन्न तहमा इन्चार्ज तोक्ने जिम्मेवारी अध्यक्ष सिके राउतलाई दिएको छ।
'एक व्यक्तिले टोल/इकाइ, वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमध्ये यथासम्भव एउटै तहमा पद ग्रहण गर्ने छ, तर एउटै तहमा भने फरक जिम्मेवारी बहन गर्न सक्नेछ', विज्ञप्तिमा भनिएको छ।
जनमत पार्टीले गत चैत २८-२९ मा महाधिवेशन गरेको थियो। महाधिवेशनबाट निर्वाचितहरुको सपथग्रहण गरी पदस्थापन पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।