काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता वामदेव गौतमबीच शुक्रबार बेलुकी छलफल भएको छ।
नेपाल र गौतमबीच काठमाडौंको नागपोखरीस्थित गौतमका छोरा हरिशको एक कार्यालयमा भेट भएको हो।
गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले दुवै नेता कफी पिउने क्रममा नागपोखरी पुगेको र त्यहाँ जम्काभेट भएपछि करिब १५–२० मिनेट छलफल गरेको बताए।
‘यो कुनै योजनाबद्ध भेट थिएन’, सुवेदीले भने, ‘जम्काभेट भएपछि केहीबेर छलफल भएको हो।’
भेटमा एमालेको पछिल्लो अवस्थाबारे छलफल भएको तर विस्तृत जानकारी भने आफूलाई नभएको उनले बताए।
‘वामदेव गौतमले हिंजो केपी ओलीसँग पनि राम्रै कुरा भयो, आज माधवजीसँग पनि अचानक भेट भए पनि राम्रै कुरा भयो भन्नुभएको छ’, उनले भने।
विभाजनको डिलमा पुगेको एमालेमा पछिल्लो समय द्विपक्षीय भेटवार्ता तीब्र बनेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै वरिष्ठ नेता नेपालपक्षले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर संरचना निर्माण र गतिविधि तिब्र पारेको छ।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ गौतमलाई बालुवाटारको डिनर बैठकमा निम्त्याएका थिए। तर, आफूले गरेको आग्रह अस्वीकार गरेको भन्दै गौतम डिनर चल्दाचल्दै बाहिरिएका थिए। उनले शुक्रबार बिहान आफ्नो सचिवालयमार्फत् ‘ओली सच्चिन नचाहेको’ टिप्पणी गरेका थिए।
शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले गौतमलाई एमालेको स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो।
बुधबार र बिहीबार ओली र नेपालबीच एक्लाएक्लै संवाद भए पनि त्यसले एमालेभित्रको दरार कम गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।