काठमाडौं– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी परित्याग गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको छ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खड्काले दल परित्याग गरेको पत्र प्राप्त भएको जानकारी दिए। खड्काको पत्र सचिवालयमा दर्ता भएसँगै राष्ट्रिय सभामा दुई सिट रिक्त भएको छ।
यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादीले संसदबाट हटाएको थियो। सांसदबाट हटेका थापाले पुन: गृहमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए।
थापालाई कारबाही गरिए पछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगले कार्यसूची प्रकाशन गरिसकेको छ।
खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। संसद अधिवेशन चालू रहेको अवस्थामा संसदमा सुनाएपछि सांसद पद गुम्ने व्यवस्था छ भने संसद अधिवेशन नभएको अवस्थामा सूचना प्रकाशन गरेपछि पद जाने छ।
थापाको हकमा पनि यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सुचना जारी गरेका थिए। पार्टी परित्याग गरेको सुचना संसद सचिवालयमा दर्ता भएपछि सांसद पद नरहने संवैधानिक व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।