काठमाडौं- ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रकवि माधव घिमिरेलाई विदेश लैजान चिकित्सकहरुले सुझाव दिएका छन्।
शरीरभित्र रक्तश्राव भइरहेको र त्यसको अवस्था पत्ता लगाउन चिकित्सकले विदेश लैजान सुझाएको राष्ट्रकविका जेठा छोरा इन्दिवर घिमिरेले जानकारी दिए।
राष्ट्रकवि घिमिरेको सानो आन्द्राका साथै दिसामा पनि रक्तश्राव भइरहेको छ। तर, कहाँबाट रक्तश्राव भइरहेको छ भन्ने अवस्था पत्ता लगाउने मेसिन नेपालमा नभएकाले विदेश लैजान चिकित्सकले सुझाव दिएका हुन्।
क्रोनिक ग्यास्ट्राइटिस र उच्च रक्तचापको समस्या देखिएका ९९ वर्षीय घिमिरे दुई सातादेखि अस्पतालमा उपचाररत छन्। राष्ट्रकविको उपचारमा ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको नेतृत्वमा डा विवेक शर्मा, डा अखिलेश कश्यप लगायतका चिकित्सक संलग्न रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अस्पताल पुगेर राष्ट्रकविलाई भेटी स्वास्थ्य अवस्था र उपचार पक्रियाबारे जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।