पोखरा– रुपा गाउँपलिका २ थुम्कीका वडाध्यक्ष हरिकृष्ण ओेझा सम्पर्कविहीन भएको वडावासीले गुनासो गरेका छन्।
हालै भएको गाउँपालिकाको नागरिक सुनावाइ कार्यक्रममा स्थानीयले वडाध्यक्ष कार्यालयमा नआएको बताएका हुन्। वडाध्यक्षमा जितेको केही दिन कार्यालयमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्।
‘जितेको २/३ दिन वडामा देख्यौं, त्यसपछि कहिल्यै देखिनुभएन’, वडा नम्बर २ का बासिन्दा अशोक ओझाले भने, ‘नेपालमा हुनुहुन्छ कि भारतमा हुनुहुन्छ, थाहा नै छैन।’
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वडाध्यक्षले आफूलाई समेत सम्पर्क नगरेको बताए।
उनले भने, ‘मलाई समेत खबर गर्नुभएको छैन, पोखरातिर हुनुहुन्छ भन्ने खबर छ, तर थाहा छैन।’
कार्यालय वडाध्यक्षविहीन भए पनि वडावासीको काममा अवरोध नहोस् भनेर कार्यवाहक वडाध्यक्ष खटाएको उनले बताए। वडाको कार्यवाहक वडाध्यक्षमा नन्दलाल ओझाले जिम्मेवारी सम्हालिरहेका छन्।
जिल्ला समन्वय समितिले वेबसाइटमा राखेको जनप्रतिनिधिहरुको मोबाइलको सूचीमा रहेको वडाध्यक्ष ओझाको मोबाइल नम्बरमा फोन गर्दा स्विचअफ गरिएको सन्देश आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।