काठमाडौं- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सोमबार सुरु बैठकले महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन पारित गरेको छ। प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रतिवेदनमाथि छलफल भई पारित गरिएको हो।
प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका लागि करिब-करिब ६ महिने कार्ययोजना रहेको ज्ञवालीले बताए। जसमा जेठदेखि मंसिरमा हुने महाधिवेशनसम्मको कार्यतालिका रहेको छ।
'जेठ मसान्तभित्र हामी सबै प्रदेशदेखि लिएर पालिका तहसम्मका सबै कमिटीहरुलाई पुनर्गठन सकिसक्छौं। असारसम्म पार्टी सदस्यता नवीकरण गरिसक्छौं,' प्रतिवेदनलाई उद्धृत गर्दै ज्ञवालीले भने।
उनका अनुसार, भदौभर वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिने छ। त्यस्तै, असोजमा प्रदेश अधिवेशन गरिने छ। 'मंसिरमा पार्टी महाधिवेशन सम्पन्न गर्ने गरी हामीले संगठनात्मक चार्ट, कार्यतालिका नै बनाएको संगठनात्मक प्रस्ताव पारित गरेका छौं,' ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।