काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर संसद्को मानमर्दन गरेको टिप्पणी गरेका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेपछि उनले आपत्ति जनाएका हुन्।
अलाेकतान्त्रिक कदम उठाउने सरकारले फेरिपनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेकाे उनको टिप्पणी छ। नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास समेत जारि राखेकाे बताए।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले पत्रकार महासंघका पदाधिकारीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा नेता सिंहले सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको र सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताएका हुन्।
उनले पत्रकारहरूले वास्तविक, निष्पक्ष ढङ्गले कलम चलाई देश र जनाताको पक्षमा काम गर्नुपर्ने धारणा राखे।
‘ओलीले राजनीतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ। यो सरकार देश र जनताको पक्षमा काम गर्न सकेन’, उनले भने, ‘यो सरकारले विकास निमार्णका कार्य केही नगर्ने तर, जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ। विकास भन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागिपरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।