काठमाडाैं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्य मन्त्री बन्ने भएका छन्। शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्वीप उल्लंघन गरेका थिए।
उनीहरुमध्ये तीन जना मन्त्री बन्ने टुंगो लागेको छ। शुक्रबार यसरी फ्लोर क्रस गर्नेमा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही थिए। उनीहरुमध्ये थापा भौतिक पूर्वाधार मन्त्री, बुढा कृषिमन्त्री र शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने टुंगो लागेको माओवादी केन्द्रका सांसद बिन्दमान बिष्टले बताए।
३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन्। नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन। तर, एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए।
अब मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेर उनीहरुलाई जिम्मेवारी दिने बताइएको छ। कांग्रेसलाई पनि एक मन्त्री दिने सहमति भए पनि औपचारिक निर्णय भइसकेको छैन।
शनिबार बिहानदेखि एमाले र काग्रेससंग छ्लफलमा बसेपनि सहमति भर्खरै भएको बिस्टले बताए।
एमाले सांसद थापाले आफूसहित फ्लोर क्रस गर्ने एमाले नेताहरू मन्त्री बन्न लागेको नेपाल लाइभलाई बताए। 'मैले पनि मलाई मन्त्री बनाउने निर्णय भयो भन्ने सुनें', उनले भने।
एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ।
एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले संसदीय दलको सिफारिसअनुसार शुक्रबारदेखि नै लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्कासन गरिएको बताए।
यस्तै ह्विप उल्लंघन गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासित गर्न केन्द्रमा सिफारिस गरिएको बोगटीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। ज्वाला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य रहेका कारण केन्द्रबाटै कारबाही गर्नुपर्ने भएकाले केन्द्रमा सिफारिस गरिएको हो।
पार्टीको ह्विपविपरीत मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्नु जघन्य अपराधपूर्ण काम भएको बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।