कास्की– डिउटीकै क्रममा करेन्ट लागेर एक प्रहरीको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय बगर, कास्कीमा दरबन्दी भई ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थु चौधरीको आइतबार करेन्ट लागेर मृत्यु भएको हो।
२०६४ साल भाद्र १५ गते प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीबाट नेपाल प्रहरीको प्रहरी कार्यालय सहयोगी पदमा भर्ना भएका थिए। कार्यालयमा बिद्युत् लाइन मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
उनको पार्थिव शरीरलाई जेष्ठ ७ गते सोमबार पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराको प्राङगणमा राखेर श्रद्धाञ्जली दिइएको छ। ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल र पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य लगायत कास्की स्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।