काठमाडौं- सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ।
यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदामा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिलेकै ५८ वर्ष कायम गर्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।
उनले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताए।
यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझाव अनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी ६० वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदामा राखेको थियो।
'समितिको सुझाव अनुसार हामीले ऐनको मस्यौदमा सेवानिवृत्तको उमेर हदबन्दी ६० वर्ष राखेका थियौं', प्रवक्ता अधिकारीले भने, 'तर पछि अध्ययनका क्रममा उक्त उमेर व्यावहारिक नहुने भएकाले पुनः पहिलेकै ५८ वर्ष राख्ने भनेर प्रस्ताव पठाएका छौं।’
निजामती सेवा ऐन कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।