काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रले अन्य पार्टीसँग अपिल गरेको छ।
माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक सिता नेपालीले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेकी हुन्।
‘कर्णाली प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकबाट प्रस्तुत हुने मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यहरुलाई अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा शाहीले आफ्नो पद जोगाउन बहुमत रहेको पुष्टि गर्नुपर्ने हुन्छ। ४० सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।
वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्नेछ। माओवादीलाई कांग्रेस र राप्रपाले मत दिएपनि एक मत पुग्ने छैन। त्यसका लागि एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्नुपर्नेछ।
यता, सचेतक नेपालीले संसदमा व्यक्त सार्वजनिक प्रतिबद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको आरोप लगाएकी छिन्।
‘एमालेको यो कदमले अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।