काठमाडाैं- नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
गत माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो। यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ। पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुँदै गएको छ। गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
कनेक्ट आईपीएसमार्फत् एक खर्ब १० अर्बको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ। माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यसैगरी माघमा मोबाइल बैकिङमार्फत् ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। गत माघमा ३८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। फागुनमा मोबाइल बैंकिङमार्फत् एक करोड ८२ हजार पटक कारोबार भएको छ। इन्टरनेट बैंकिङमार्फत् आठ अर्ब ८८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। वालेटमार्फत् १० अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत माघमा वालेटमार्फत् नौ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। एक महिनामा एक करोड ६१ लाख चार हजार पटक कारोबार भएको छ।
यसैगरी गत माघमा अनलाइन (ई-कमर्स) बाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ। गत माघको तुलनामा ई-कमर्सको कारोबारमा दुई करोड ८० लाख रुपैयाँले कमी आएको हो। ई-कमर्सबाट फागुनमा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।