भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाको पहिलो विधायन सभा (हिउँदे अधिवेशन) सुरु भएको छ।
गाउँपालिकाको समग्र विकास, नीति नियम तथा आगामाी कार्ययोजना लगायतका विषयमा छलफल गर्नेगरी स्थानीय श्रृजना प्राथमिक विद्यालयमा विधायन सभा सुरु भएको हो। विधायन सभाले गाउँ कार्यपालिकाले तयार पारेका ऐन, नियमावली तथा कार्यविधिमाथि छलफल गरी पारित गर्नेछ।
ओमसतिया गाउँपालिकाले बालिका संरक्षण बिमा ऐन, शिक्षा ऐन, सहकारी ऐन, व्यावसायिक ऐन, विपद् व्यवस्थापन ऐन तयार पारेको छ। त्यसैगरी गाउँपालिका प्रहरी नियमावली, न्यायिक कार्यविधि, प्रशासन कार्यविधि, अर्थ व्यवस्थापन कार्यविधि, गाउँसभा सञ्चालन कार्यविधिलाई पनि पारित गरी राजपत्रमा प्रकाशित गर्ने गाउँपालिकाका अध्यक्ष हिराकुमार केवटले जानकारी दिए।
सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले देश समृद्धिको बाटोतर्फ उन्मुख भइसकेकाले सबै स्थानीय तहलाई आ–आफ्नो बाटो पहिचान गर्न आग्रह गरे। जनतासँग कबुल गरेका कुरा पुरा गर्न र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याउन नै पार्टी एकता गरिएको उनको भनाइ थियो।
पूर्व कृषिमन्त्री समेत रहेका विश्वकर्माले सस्तो लोकप्रियताको लागि भन्दा पनि ५ वर्षका लागि राम्रो कार्ययोजना बनाएर देश समृद्ध बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले गाउँपालिकाको विकासका लागि प्रदेशसभाको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रुपन्देहीका स्थानीय तहहरु तथा प्रदेशसभाबीच समन्वय गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै आफूले पटक–पटक स्थानीय तहको हक र अधिकारबारे प्रदेशसभामा आवाज उठाइरहेको बताए।
आइतबारबाट सुरु भएको विधायन सभा बैठकमा गाउँपालिकाको समग्र विकास योजनाको खाका कोरेर त्यसमाथि विस्तृत रुपमा छलफल गर्ने तथा गाउँपालिका सञ्चालनका लागि आवश्यक नीति–नियम तथा कार्यविधिहरु पारित गरिने जनाइएको छ।
एक सातासम्म चल्ने विधायन सभाको बन्दसत्र भने गाउँपालिका परिसरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।