काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ११ र कर्जा १७.४ प्रतिशतले बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा निक्षेप संकलन २१.९ प्रतिशत र कर्जा १०.१ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार फागुन समान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप आठ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा हेर्दा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.९ प्रतिशतले बढेको देखिएको छ।
गत फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ५० प्रतिशत रहेको थियो। यो अवधिमा कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको छ। २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो।
त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७७ फागुन मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको देखिन्छ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्षको फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ।
त्यस्तै आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।