काठमाडौं– काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको पुष्टि भएपछि छानबिन समिति गठन भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौंबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको हो।
विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय संजाल ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ सञ्चालनमा रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा रहने गरेका छन्।
सोही नेटवर्कबाट आफूलाई २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएपछि विभागका सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको महर्जनले जानकारी दिए।
उनका अनुसार जनवरी ११ मा नेटवर्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हङकङ उडान भएको क्याथे प्यासिफिकको मिति जनवरी ८ गते उडानमा रहेको १० जना र जनवरी ९ गते उडानमा गएका १८ जना यात्रुहरूलाई फुड पोइजन भएको हो।
छानबिन समितिलाई यस सम्बन्धमा अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।