काठमाडौं – नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ।
धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन्।
सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ। त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन्।
एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ। ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।
कोरोनापछि उडान रोकेको क्याथेले ०७९ असोजमा नेपालमा पुन: उडान थालेको थियो।
काठमाडौँबाट उडान सीएक्स६४० मार्फत हङकङ आइपुगेका यात्रुहरूमा लगातार दुई दिनसम्म खाना विषाक्तता (फुड पोइजनिङ) को लक्षण देखिएपछि क्याथे प्यासिफिक एयरवेजले माफी मागेको छ।
पछिल्लो उडान बिहीबार बिहान ३:२१ बजे हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
प्रहरीका अनुसार यात्रुहरूले अस्वस्थता महसुस गरेपछि अग्नि सेवा विभागले विमानस्थलमा धेरै एम्बुलेन्सहरू पठाएको थियो। जसमार्फत १२ जनालाई उत्तरी लान्ताउ अस्पताल पठाइएको थियो।
क्याथेका प्रवक्ताले भने खाना प्रदूषणको स्रोत एयरलाइन्सको सञ्चालन बाहिर रहेको देखिएको बताएको छ।
साथै, कम्पनीले यो मामिलालाई पारदर्शी रूपमा सम्हाल्ने र उडानको समयमा दिइने खानासँग सम्बन्धित घटनाहरूमा सबै आवश्यक सुधारात्मक कारबाही गर्ने वाचा गरेको छ।
‘हामी प्रभावित यात्रुहरूलाई भएको कुनै पनि असुविधाको लागि इमान्दारीपूर्वक माफी चाहन्छौँ,’ क्याथेले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।