काठमाडाैं- साहित्यकार तथा नियात्राकार जय छाङछाको 'नियात्रा विधा : परिचय' पुस्तक सार्वजनिक गरिएको छ।
उदय मासिकका प्रधानसम्पादक दुर्गाप्रसाद श्रेष्ठ, रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्दप्रसाद श्रेष्ठ र साहित्यकार मोहनबहादुर कायस्थाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमा नियात्रा परिचय, अर्थ, परिभाषा, आयम, विशेषता, तत्त्वहरु तथा वर्गीकरणलगायत समावेश गरिएको छ। कार्यक्रमका वक्ताहरुले नेपाली नियात्राको प्रारम्भ, विकास, कालविभाजन र सर्जकहरुका बारेमा उल्लेख गरिएकोले यो पुस्तक नियात्रा विधामा कलम चलाउनेहरुका लागि अति उपयोगी हुने बताए।
छाङछाले यसअघि कंगारुको देशदेखि आइफेल टावरसम्म, चाँप फुल्ने पहाडमुन्तिर, बादल छँदाको जुरिच, दोहाको सीधा उडान, बिब्ल्याँटो आकाशको धरातलतिर र पैदलै काठमाडाैंका चुलीहरु जस्ता नियात्राहरु लेखिसकेका छन्। कार्यक्रममा बोल्दै लेखक छाङछाले नियात्रा साहित्यको छुट्टै विधा भएको बताए। २०२६ सालमा नै यात्रा साहित्यलाई 'नियात्रा' नामकरण गरिएको उल्लेख गर्दै उनले निबन्ध विधाकै उपविधा नियात्रा हो भन्ने नेपाली साहित्यकारहरुको भनाइमा सत्यता नरहेको धारणा राखे।
निबन्ध र नियात्रा फरक-फरक विधा भएको अध्ययनबाट पुष्टि भइसकेको उनको भनाइ थियो। भारत तथा पश्चिमी साहित्यमा पनि नियात्रालाई एक स्वतन्त्र विधाको रुपमा स्वीकार गरिएको लेखक छाङछाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।