पोखरा- पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ।
महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो।
मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना ७ दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या आएकाले हटाउन लागिएको हो। हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा ५ हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ।
नगर प्रमुख जिसीले बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै सडकमा विद्युतको पोल हुँदा दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।