पर्सा- ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले नियमित चेकजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो।
सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरीलाई प्रहरीले रजतजयन्ती चोकमा चेकजाँच गर्दा १२ लाख सात हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।
कोइरीले बोकेको झोलाबाट प्रहरीले दुई हजार दरको २ सय ३५ थान र ५ सय दरको एक हजार ४ सय ७५ थान भारतीय रुपैयाँ बरामद गरेको हो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।