काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत किन नलिएको भनी प्रश्न उठाएका छन्। पौडेलले प्रधानमन्त्री आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुँदा पनि नैतिकता देखाउनुनपर्ने हो? भनी प्रश्न गरेका हुन्।
उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे। सरकारले बिजनेस नदिएर फेरि विघटनलाई पुष्टि गर्ने काम नहोस् भन्दै उनले संविधान बनाउन आफूहरुको पनि योगदान रहेकाले संविधान नसिकाउन आग्रह गरे।
‘संसद् र संसदीय समितिमा प्रतिनिधित्व गर्ने कुरा हामीलाई पनि थाहा छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले भने, ‘यो संसद् काम छैन भन्ने सरकारको धारणा हो भने यो लोकतन्त्रविपरीत हुनेछ। संसद्लाई जनताको कुरा सुन्ने थलो बनाइयोस्।’
राजनीतिमा नैतिकता हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठिरहेको बताए। ‘हामीले बनाएको संविधानको धारा १०० को उपधारा (२) मा विश्वासको मत लिनुपर्ने उल्लेख छ। कहाँ पुग्यो यो कुरा,' उनले भने, ‘अधिकांश दलले प्रधानमन्त्रीको राजीनामाको प्रश्न उठाएका छन्। के विषयमा उठ्यो त्यो पनि सबैलाई थाहा छ।’
आफूहरुले पनि यो व्यवस्थाका लागि रगत बगाएका भन्दै उनले विकासका फोस्रा गफभन्दा सम्बन्धित क्षेत्रमा पुगेर अनुगमन गर्न प्रधानन्त्री ओलीलाई सुझाव दिए। ‘केही विकास निर्माण भएका छन्, तर समृद्ध नेपाल बनाउने योजनाको पहिलो पाँच वर्षमा के काम भयो? राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्,’ उनले भने, ‘काम भएको छैन। प्रचार निकै भएको छ। फिल्डमा गएर अनुगमन होस्। तथ्यांक लिइयोस्। खाली यो पनि भयो ऊ पनि भयो भनेर जनताले पत्याउने छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।