काठमाडौं- नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाएका छन्। उनले प्रतिनिधिसभामा बोल्दै बिहीबार यस्तो बताएका हुन्।
फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले आफूलाई नेकपाबाट एमाले र माओवादी केन्द्र बनाए पनि समितिमा नेकपा नै रहनुपरेको उनको गुनासो छ। उनले भने, ‘अदालतले एमाले र माओवादी केन्द्र बनाएर फेरि एकीकरण गर्न आऊ भनेपछि जाने सकेनौं। त्यसैले हामी दुई पार्टी नै छौं तर समितिमा नेकपा हुन बाध्य छौं।’
यसले संसद्को क्रियाशीलतामा पनि असर गर्ने उनको भनाइ छ। त्यसैले प्रतिनिधिसभामा एमाले तर समितिमा नेकपा हुन नसक्ने उनको भनाइ छ। उनले संविधानविपरीतको काम भएको भन्दै संविधानसम्मत बनाउन आग्रह गरे।
समितिमा दुई पार्टीलाई नछुट्याउँदा संसदीय व्यवस्थाअनुसार सांसदको प्रतिनिधित्व दलको अनुपातमा नभएको उनले बताए। उनले भने, ‘अहिले नेकपा एमाले र माओवादी केन्द्र भइसक्यौं। त्यसैले एमाले भएर प्रतिनिधित्व गर्न चाहन्छौं। नेकपा एमाले ठूलो पार्टी हो। बहुमतको सरकार छ। संसदीय समिति तदअनुरुप व्यवस्था हुनुपर्छ।’
अधिकारीको गुनासोपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिमा छलफल भइसकेकाले चाँडै त्यसअनुसार छुट्याइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।