काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई पक्राउ गरेको छ।
सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङ्तान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।
सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उत्तीर्ण गराउने गरेका थिए। उनीहरुमध्ये तिवारी यही शुक्रबार र अन्य आइतबार पक्राउ परेका हुन्।
यस्तै, आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई २४ लाख ५० हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आज पक्राउ गरेको छ।
सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको आयोगले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।