काठमाडौं– सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका धनुषा जिल्ला मालपोत कार्यालयका नायब सुब्बा राधेशरण ठाकुरलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ।
आइतबार न्यायाधीशहरु बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले नासु ठाकुरलाई दोषी ठहर गर्दै पाँच हजार जरिवाना हुने फैसला सुनाएको छ। जग्गा बाँडफाँटमा कागजी प्रक्रियामा भएको त्रुटि सच्याए वापत घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गर्दै विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
धनुषाको रघुनाथपुर निवासी पाँच दाजुभाइको जग्गा बाँडफाँटमा कागजी प्रक्रियामा भएको त्रुटि सच्याउन जाँदा उनले घुस लिएका थिए। कर्मचारीले बिगारिदिएको कागजी त्रुटि सच्याउन उनीहरुले लेखापढी व्यवसायी देवेन्द्र ठाकुरको सहयोग लिएका थिए। देवेन्द्रले छिटो काम गराउन ६ हजार शुल्कमा एक हजार थपेर कर्मचारीलाई दिए। तर, नासु राधेशरणले त्यसले नपुग्ने भन्दै चार हजार थप माग गरेका थिए।
सेवाग्राहीले एक हजार थप्न तयार रहे पनि चार हजार दिन नसकिने बताएपछि नासुले घुसको रकम बढाएर पाँच हजार पुर्याजएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।