इटहरी- इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा रु ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ।
गए राती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो।
प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत नोक्सानी पुगेको छ।
फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ । आगलागीमा सबैभन्दा बढी गुप्ताको नोक्सानी भएको प्रहरीले जनाएको छ।
इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।