काठमाडाैं–जनता समाजवादीमा दुई धारमा देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएको छ।
माओवादी केन्द्र, कांग्रेस र जसपासहित पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो। जसपा सांसदत्रय कल्पना पाण्डे, सन्तोष पाण्डे र विजय यादव अविश्वास प्रस्तावको विपक्षमा देखिएका हुन्।
तीन सांसद अविश्वास प्रस्तावमा समर्थन नगरेपछि पोखरेल नेतृत्वको सरकारको बर्हिगमन नहुने भएको हो। लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका २० सांसद छन्। एमाले र माओवादी गठबन्धनबाट पोखरेल मुख्यमन्त्री बनेका थिए।
माओवादी केन्द्र विना पोखरेलले सरकार बनाउने प्रयत्न गरेका छन्। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ। एमालेका ४१ सांसद छन्।
पोखरेललाई ३ मत भए बहुमत पुग्दछ। कांग्रेसका १९,जनता समाजवादीका ६ र जनमोर्चाका १ प्रदेशसभा सदस्य छन्। पोखरेलले जसपाको साथमा बहुमत पुर्याउने प्रयास गरेको बताइएको छ।
यसैवीच,लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री भएका दुई जनालाई मुख्यमन्त्री शंकर पोखरेलले हटाउन लागेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजीक विकास मन्त्री सुदर्शन बराललाई मन्त्रीबाट हटाउन लागिएको हो।
मन्त्रिपरिषद पुनर्गठन गर्नका लागि माओवादीका मन्त्री हटाउन लागेको बताइएको छ। प्रदेश सभा बैठक आज सञ्चालन भएर स्थगित हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।