काठमाडौं–नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ।
नेविसंघले सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि घेराउ र विरोध प्रदर्शन गरेको हो।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीपछि जनजीवन असामान्य बनिरहेको अवस्थामा भएको मूल्यवृद्धि गलत भएको बताए। रोजगारी र आयस्रोत गुमी जनजीवन कष्टकर बनिरहेको समयमा सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको उनको आरोप थियो।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै वस्तुको मूल्यवृद्धि हुने बताउँदै उनले सरकारको नियत नै जनतालाई दुःख दिने रहेको भन्दै यसविरुद्ध निरन्तर खबरदारी गरिने बताए।
आयल निगमले आइतबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।