काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।
सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो। अविश्वासको प्रस्ताव पारित गर्ने अंकगणित नपुग्ने भएपछि माओवादीले अविश्वास प्रस्ताव फिर्ता लिएको छ।
प्रदेश सभा बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिएको बताए। पुस १२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहका ३७ जना सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
अविश्वासको प्रस्तावमा आङ्बो र समर्थकमा राजकुमार राई थिए। उनीहरूले अर्को मुख्यमन्त्रीको रूपमा एमालेका भीम आचार्यलाई प्रस्ताव गरेका थिए। त्यतिबेला दाहाल समूहका १५ र नेपाल समूहका २२ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
तर, सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको नेपाल समूहका सांसद्ले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।
माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोले भने, ‘अविश्वासको प्रस्तावका लागि हामीसँग प्रदेश सभाको कुल सदस्य संख्याको एक चौथाइ सांसद् पनि छैनन्। त्यसैले प्रस्ताव फिर्ता गरेका हौं।’
९३ सिट रहेको प्रदेश सभामा एमालेका ५१ सांसद् छन्। यस्तै, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ सांसद् छन्।
यसअघि १६ सांसद् रहेको माओवादी केन्द्रले एक सांसद्लाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका सांसद् टंक आङबुङलाई कारबाही गरेको हो। कारबाहीसँगै उनको सांसद् पद गुमेको छ। प्रदेश सभामा अन्य साना दलका ५ सांसद् छन्। प्रदेश सभाको अर्काे बैठक चैत २६ गते बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।