जनकपुर– नेपाल पत्रकार महासंघ प्रदेश–२ को कार्यसमितिले पत्रिकाको वर्गीकरण गर्दा प्रदेश २ का पत्रपत्रिकालाई राहतपूर्ण रुपमा सूचीकृत गर्न प्रेस काउन्सिललाई आग्रह गरेको छ।
जनकपुरमा आइतबार सम्पन्न प्रादेशिक समितिको पहिलो बैठकले गत साउन महिनामा तराई–मधेसमा आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यमहरु प्रभावित भएको र त्यस विषयलाई मनन गरी वर्गीकरणमा ध्यान दिन आग्रह गरेको हो।
बैठकले प्रादेशिक समितिको निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय निर्वाचन समिति, जिल्लास्थित निर्वाचन समितिहरु, पत्रकार महासंघ केन्द्रीय समिति, महासंघ धनुषा शाखासहित ८ वटै जिल्ला शाखालाई धन्यवाद दिएको छ भने प्रादेशिक समितिको कार्यालय व्यवस्थापन तथा सञ्चालन प्रशासनिक मुख्यालय जनकपुरमा राख्ने निर्णय समेत गरेको सचिव आरएन विश्वासले जानकारी दिए।
प्रशासनिक मुख्यालय व्यवस्थापनको जिम्मेवारी महासचिव किरण कर्ण र कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापनको जिम्मा कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।