काठमाडाैं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपालनिकट अनेरास्ववियूले विरोध प्रदर्शन गरेको हो।
अनेरास्ववियूले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको बताए। मूल्यवृद्धिबाट लाखौं विद्यार्थीमात्रै नभई जनसमुदायमाथि सीधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने उनले बताए। यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्नसमेत अनेरास्ववियूले माग गरेको छ।
ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक १५-१५ दिनमा मूल्य समायोजन गर्ने व्यवस्थाअनुरुप मूल्यवृद्धि गरिएको बताए। निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउनेबित्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे। यद्यपि, विद्यार्थीहरुको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउनेसमेत उनले बताए। उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचनाअनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ। आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।