काठमाडौं– सरकारले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने भएको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले आइतबार सबै प्रदेशका कृषिमन्त्रीहरुसँग सामूहिक भेटका क्रममा सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्नेगरी बजेटको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। मन्त्री खनालले कमजोर आर्थिक अवस्था भएका किसानलाई माथि उठाउन पनि सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्न लागिएको समेतबताए।
उनले सरकारले किसानलाई पेन्सन उपलब्ध गराउन आवश्यक मापदण्ड तोक्ने विषयलाई पनि प्राथमिकता दिएको स्पष्ट पारे। किसानको वैज्ञानिक वर्गीकरणको कामलाई अघि बढाएर उनीरुलाई परिचयपत्र उपलब्ध गराउने र त्यसपछि पेन्सनको व्यवस्था गर्न लागिएको पनि मन्त्री खनालले जानकारी दिए।
मन्त्री खनालले प्रदेश र स्थानीय सरकारमाथि हस्तक्षेप नहुनेगरी बजेटको व्यवस्था गर्न लागिएको पनि बताए। उनले बजेट कार्यान्वयनका लागि केन्द्र सरकारले प्रदेश सरकारसँग सहजीकरण गर्ने योजना पनि अघि सारे।
नमूना कानुन लगायतका आवश्यक व्यवस्था गरेर प्रदेश सरकारको कामलाई सहज बनाउने काममा संघीय सरकार लागिपर्ने मन्त्री खनालले बताए। उनले साना किसानलाई सोझै अनुदान पाउने व्यवस्था हुनेगरी कार्यविधि बनाउन लागिएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।