धनगढी– ७ नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदिय दलको नेतामा डा रणबहादुर रावल चयन भएका छन्। कांग्रेसका प्रदेशसभा सदस्यहरुको आइतबार बसेको बैठकले रावललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।
डा रावल कैलाली क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। संसदीय दलको नेता चयनका लागि कांग्रेस केन्द्रीय कार्यालयले सबै प्रदेशमा केन्द्रीय प्रतिनिधी खटाएको थियो। ७ नम्बर प्रदेशका लागि खटिएका केन्द्रीय सदस्य एनपी सावदको उपस्थितिमा बसेको बैठकमा रावलको नाममा सहमति जुटेको हो।
डा रावलले दलको नेता चयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसले संसदमा सशक्त तथा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। आगामी दिनमा पार्टीलाई एकजुट बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।