काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई पदबाट हटाउन प्रदेश सरकारसमक्ष पत्राचार गरेको छ। माओवादी केन्द्रबाट निर्वाचित भए पनि नेकपा एमालेमा प्रवेश गरेका दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्राचार गरेका हुन्।
माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाउन प्रचण्डले पठाएको पत्र प्रदेशसभालाई प्राप्त भएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताए। ‘उहाँहरुलाई कारबाही गरेको पत्र सभामुखलाई पठाइएको छ, ’ उनले भने ‘अब सभामुखले प्रदेशसभा सदस्य नरहेको निर्णय गर्नु हुनेछ।’
माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। न्यौपाने र पन्थीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले दुवै जनालाई पदबाट हटाउनका लागि प्रदेश सरकारलाई पत्राचार गरेको हो।
प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटनपछि एमालेमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।