काठमाडाैं- टिकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी लगायतलाई रिहाईको माग गर्दै आएको थारु कल्याणकारी सभासँग सरकारले दोस्रो चरणको वार्ता गरेको छ।
वार्ता सहमतिउन्मुख रहेको सरकारी पक्षको दाबी छ। सरकारी वार्ता टोलीका एक सदस्य राजन भट्टराईले संघर्ष समितिले राखेका मागहरूका बारेमा थप व्याख्या र छलफल भएको र वार्ता सहमति उन्मुख रहेको उल्लेख गरेका छन्।
उनले अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि सम्पन्न भएको बताएका छन्। उनले अर्को दिन हुने वार्तामा सहमति हुने सम्भावना रहेको दाबी गरेका छन्। राजनीतिक दलहरूका बीचमा सरकार निर्माणको खिचातानी चलिरहेको समयमा जनता समाजावादी दल एकाएक निर्णायक भएपछि सरकारले चौधरी लगायतका विषयमा छलफल गर्न थालेको थियो।
२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालत दिपायलले पनि तीमध्ये ७ जनाको सजाय सदर गरेको थियो भने चार जनाको सजाय घटाएको थियो।
उक्त निर्णय विरुद्ध मुद्दा अहिले सर्वोच्च अदालतमा रहेको छ। सर्वोच्चमा मुद्दा रहेको समयमा जसपासँग सत्ता साझेदारीका लागि सरकारले वार्ता गरिरहेको छ। सरकारमा जानका लागि जसपाले रेशम चौधरीको मुद्दा फिर्ता हुनुपर्ने र संविधान संशोधनको ग्यारेन्टी माग गरिरहेको छ।
कानुनी रुपमा चौधरीको मुद्दा फिर्ता लिन नमिल्ने भएपछि सरकारले थारु कल्याणकारीसँग वार्ता टोली नै बनाएर वार्ता गरिरहेको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा 'बादल'ले यसको नेतृत्व गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।