फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन। शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक पाँच घन्टा बितिसक्दासमेत सुरु हुन सकेको छैन।
वर्तमान सरकारको विकल्पका विषयमा ठोस निर्णय गर्ने सन्दर्भमा नेताहरुबीच विवाद उत्पन्न भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको बताइएको छ। गतिरोध अन्त्य गर्नका लागि सभापतिले पहल नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले जनाएको छ।
प्रमुख प्रतिपक्षी दलले सरकार बनाउने पहल गर्नुपर्नेमा संस्थापनइतर नेताहरुको जोड छ। केपी ओली सरकारको विस्थापन गरी प्रधानमन्त्री बन्न सभापति देउवा तयार नभए दोस्रो व्यक्तिलाई प्रस्ताव गर्न माग पौडेलपक्षले माग गरेको छ।
विवाद अन्त्यका लागि सभापति शेरबहादुर देउवाको कक्षमा वार्ता चलिरहेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।
महाधिवेशन कार्यतालिका प्रभावित भएपछि संशोधनसहितको नयाँ कार्यतालिकाका लागि बैठक बोलाइएको थियो। संस्थापनइतर पक्षले वर्तमान राजनीतिकका विषयमा पनि पार्टीले ठोस निर्णय लिनुपर्ने माग संस्थापनइतरले गरेपछि बैठक राजनीतिक गतिरोधमा केन्द्रित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।