काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मेलम्चीकै सहायक याङग्री र लार्केबाट ३ वर्षभित्र काठमाडौंमा पानी आउने दाबी गरे। मेलम्ची खानेपानीको औपचारिक वितरण कार्यक्रमलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘यी दुई खोलाको पानी अहिलेकै यही टनेलबाट आउँछ। त्यसैले अब अनावश्यक लामो समय लिन सक्दैन।’
खानेपानी मन्त्रालयले यसमा तीब्र गतिमा काम गर्न उनले मञ्चबाट निर्देशन दिए। ‘प्राविधिक रूपमा हिसाब गरेको छैन। तर, यो यही अवधि (तीन वर्ष) मा आउनु पर्छ’ उनले भने, ‘अब नाम अलि फरक पार्नु पर्ला। मेलम्ची भनेपछि समयमा आउँछ भनेर मान्छेहरूले पत्याउनै छोडे। अर्कै नामले तर, छिट्टै ल्याउने काम गर्नुपर्छ। काम हुँदैन कि भन्ने अवस्था अब छैन।’
के हुँदैछ याङग्री र लार्केमा काम
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङग्री र लार्केको पानी काठमाडाैं ल्याउन नयाँ प्रविधिबाट काम गर्ने तयारी थाल्नेबाहेक अन्य काम हुन सकेको छैन। याङग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर काठमाडौंमा ल्याउने आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) टुंगिएर मेलम्ची खानेपानी आयोजनाको अध्ययनको क्रममा रहेको छ।
२०७५ सालमा निर्माण भएको डीपीआर स्वीकृत वा अस्वीकृत कुनै निर्णय भने भएको छैन। पछिल्लो समयमा सरकारले मेलम्ची आयोजनालाई काठमाडौं ल्याउने कुरामा मात्र ध्यान दिएकाले यी दुई परियोजनामा खासै काम हुन सकेको छैन। परामर्शदाता कम्पनीले बुझाएको डीपीआर रिपोर्टमा छलफलका क्रममा एसियाली विकास बैंकका विज्ञहरूले सामान्य सुधार गर्नका लागि सुझाव दिएका थिए। सो सुझावका आधारमा केही संशोधन गर्दै परामर्शदाता कम्पनीले मेलम्ची खानेपानी विकास समितिलाई अन्तिम डीपीआर बुझाएको थियो।
दोस्रो चरणमा याङग्री खोलासम्म ९ किलोमिटरको सुरुङ खनेर १७ करोड लिटर र त्यसमाथि थप २ किलोमिटरको सुरुङ खनेर लार्केबाट अर्को १७ करोड लिटर पानी मेलम्ची खोलामा मिसाएर दैनिक ५१ करोड लिटर पानी काठमाडाैं ल्याउने योजना थियो।
पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डीबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डीबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीच-बीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारी गत असोजमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले गरेपछि नयाँ प्रविधिमा गएको हो।
दोस्रो चरणको याङग्री र लार्केको पानी राजधानी ल्याउन पनि डीबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो। यो प्रविधिबाट करिब ११ किमि सुरुङ बनाउँदा रू. १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। डीबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्नेगरी आयोजना समीक्षामा लागेको थियो।
मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङग्री नौ किलोमिटर टाढा पर्छ। याङग्रीबाट लार्के दुई किमिको दूरीमा पर्छ। दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छन्। करिब ११ किमिको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रविधिबाट काम प्रवेश मार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौं समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको हो।
तीन मिटर सडक र १.८ मिटर पानी बगाउन उपयोग गर्ने गरी सुरुङमार्ग बनाउने तयारी आयोजनाले गरेको थियो। चिनियाँ निर्माण कम्पनीले भेरी-बबई आयोजनामा पनि टीबीएम प्रविधिबाट सुरुङ निर्माण गरेको थियो। अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टीबीएम प्रविधिको सफल परीक्षण नेपालमा पहिलोपटक भेरी-बबई आयोजनामा प्रयोग गरिएको थियो। यसले परम्परागत सुरुङ निर्माणलाई विस्थापन गरेको थियो। परम्परागत तरिकाले सुरुङ निर्माण गर्दा विष्फोट गरिन्छ तर, यसमा गरिँदैन ।
यो आर्थिक वर्षको शुरुमा चिनियाँ कम्पनीले याङग्री र लार्केको पानी ल्याउन यो प्रविधिबाट काम गर्ने विषयमा अध्ययन गरेको थियो। डीबीएम प्रविधिबाट २६.५ किमी सुरुङ बनाउन करिब १० वर्ष लागेको छ। २०६६ साउनमा सुरुङको अन्तिम विन्दु सुन्दरीजलबाट शुरु भएको काम करिब ६ महिनाअघि मात्र सम्पन्न भएको थियो। चिनियाँ र इटालियन दुई निर्माण कम्पनी सुरुङको काम बीचमै छोडेर भागेका कारण पनि ढिलाइ भएको थियो। सुरुङ सम्पन्न भएर पानी परीक्षण गर्दा मुहानस्थलमै ढोका भत्किएर विवाद भएको थियो।
प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटरका दरले ५१ करोड लिटर पानी काठमाडाैं ल्याउने लक्ष्य छ। मेलम्ची खोलाको पानी ल्याउन २६.५ किमि सुरुङ निर्माण सम्पन्न गरी शुक्रबार राष्ट्रपति भण्डारीले परीक्षण गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।