काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको खेलमा नेपालले हङकङसँग दुई सातापछि प्रतिस्पर्धा गर्दै छ। असोज २७ र २९ हुने प्रतिस्पर्धामा जित निकालेमात्र नेपालले शीर्ष चारमा रहेर एक दिवसीय क्रिकेट विश्वकपको छनोट खेल्ने सम्भावना बलियो बनाउनेछ।
हङकङकसँगको महत्वपूर्ण खेलको तयारीका लागि नेपाली टिमले भारतमा दश दिन प्रशिक्षण लिँदा चार अभ्यास खेल खेल्यो। बुधबार भारत भ्रमणबाट स्वदेश फर्किएको नेपाल टिमलाई पाँच दिन दशैंको बिदा दिइएको छ।
तर नेपाली टिमका ओपनर ज्ञानेन्द्र मल्ल दशैंमा पनि अभ्यासमै केन्द्रित हुनेछन्। सामान्य रुपमा दशैं मनाउने तयारीमा रहेका उनले दशैंलाई भन्दा देशलाई प्रथामिकता राखेको बताए। ‘दशैंभन्दा पनि अहिले हामी डब्लुसिएल अन्तर्गत हङकङसँगको खेलमा केन्द्रित छौं,’ ज्ञानेन्द्रले नेपाल लाइभसँग भने। ज्ञानेन्द्र दशैंमा पनि अभ्यासमा केन्द्रित हुन लागेको यो पहिलोपटक भने होइन। ‘विगत ४–५ वर्षदेखि सामान्य रुपमा दशैं मनाउने गरेका छु, किनकी दशैंको आसपासमा नेपालको खेलहरु भइरहेका छन,’ उनले भने।
खेलाडीको लागि दशैं भन्दा ठूलो देश हुने उनको बुझाइ छ। ‘मेरो लागि दशैंभन्दा देश ठूलो छ, सायद अरु खेलाडी पनि यस्तै सोच्नु हुन्छ होला,’ दशैंमा पनि अभ्यासमा लाग्नुको कारण प्रस्ट्याउँदै उनले भने, ‘खेल्ने भनेको आफुले सक्ने बेला हो। पछि खेल्छु भन्दा खेल्न पाइँदैन। त्यसैले पाएसम्म देशका लागि खेल्न पाउनु ठूलो कुरा हो।’
खेलाडीका लागि खेल प्रतिस्पर्धा नै चाडपर्व हो। त्यसैले ज्ञानेन्द्रले देशका लागि खेल्दा चाडबाड जस्तै आनन्द महसुस गर्ने गरेका छन्। ‘देशका लागि खेल्दा गर्वको महसुस हुन्छ,’ चाडपर्वलाई प्रतियोगितासँग तुलना गर्दै उनले भने, ‘खेलाडीले देशका खेल्नु पहिलो जिम्मेवारी पनि भएको हुँदा हामीले चाडपर्व पनि बिर्सन पर्छ। ’
उनलाई दशैंको बेलामा पनि प्रशिक्षणमै केन्द्रित हुनुका कारण परिवारजन, आफन्तलाई समय दिन नपाएकोमा भने नराम्रो लाग्छ। ‘दशैंमा सवै आफन्तलाई भेट्ने बेला हो । तर यस्तो पर्वको बेलामा समेत आफूले समय दिन नपाउँदा चाहिँ अली नराइलो लाग्छ,’ उनले भने, ‘कोहि आफन्तलाई त एक वर्षपछि मात्रै भेट्ने अवसर मिल्छ। तर पनि समय हुन्न।’ परिवार तथा आफन्तबाट भने चाडपर्वमा पनि समय दिन नसकेमा उनले धेरै गुनासो खेप्नु परेको छैन । ‘कहिलेकाँहि परिवार खिन्न हुन्छन्, तर मेरो अवस्थामा बुझिहाल्नु हुन्छ, यो मामिलामा परिवारबाट ठुलो सहयोग छ,’ उनले भने, ‘तर यस्तै हो, खेलाडी भएपनि देशको लागि त्याग गर्न सक्नु पर्छ,’ ।
खेलका कारण दशैं राम्रो मनाउन नपाएपनि ज्ञानेन्द्रले बाल्यकालको दशैं खुब याद आउँछ। मामाघर गएको, चंगा उडाएको अझै बिर्सिएका छैनन्। ‘मामाघर जाँदा हजुरबुबाले जहिले पनि मेरो लागि भनेर पिङ बनाइदिनु हुन्थ्यो, त्यो मलाई खुबै स्पेशल लाथ्यो,’ उनी बाल्यकालको दशैं सम्झन्छन्। नयाँ लुगा, नयाँ नोटका दक्षिणा पनि उनका बाल्यकालका दशैं अविस्मरणीय बनाउने कुरा थिए। चंगा उडाउँदै गल्लि चाहारेको अनि दिदीहरुसँग तास खेलेको पनि ज्ञानेन्द्रले दशैंमा नबर्सिने परिघटना हुन्।
बाल्यकालको यादले होला यसपालीको दशैंमा पाएको पाँच दिने विदा मध्ये एक दिन मिलाएर मामाघर दमौली जाने योजना बनाएका छन् । ‘यो पटक सबै जना परिवार नै दमौली गएर टिका लगाउने भनेका छौं, हेरौ के हुन्छ,’ ज्ञानेन्द्रले आफ्नो एक दिने दशैं योजना सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।