सुर्खेत– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताएका छन्।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उनले भने, ‘प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ। यसलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी छ।’
राज्यमन्त्री बाँस्कोटाले सामुदायिक रेडियो र व्यावसायिक रेडियोलाई एकै नजरले हेर्न नसकिने बताए। ‘सामुदायिक रेडियो सेवामुखी हुन्छन् भने व्यावसायिक रेडियो नाफामुखी हुन्छन्। त्यसैले रेडियोको वर्गिकरण गर्नुपर्छ,’ उनले भने।
संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्ने बताउँदै उनले गलत सूचना प्रशारण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न आफूले कत्ति पनि बिलम्ब नगर्ने प्रतिवद्धता व्यक्त गरे।
राज्यमन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकाभन्दा बढी प्रेस स्वतन्त्रता नेपालमा रहेको दावी गरे।
रेडियोले सिपाहीको भूमिका खेल्नुपर्नेः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहीले कर्णालीमा केही रेडियो दोहोरी खेल्नेमा मात्रै सीमित रहेको उल्लेख गर्दै मिडियालाई अझै सशक्त बनाइ जनताका सवालमा कलम चलाउन पत्रकारलाई आग्रह गरे।
‘प्रदेशमा ४० वटा एफएम सञ्चालनमा आएका छन्,’ उनले भने,‘ती रेडियोलाई व्यवस्थित गरौं। नयाँ खोल्नु खासै जरुरी नै छैन।’
मुख्यमन्त्री शाहीले ‘हाम्रो गन्तव्य समृद्ध कर्णाली बनाउने हो’ भन्दै यसका लागि सञ्चार क्षेत्रको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।