प्राय: रंगहरूमा विभिन्न रासायनिक विषाक्त पदार्थ मिश्रण गरिएको हुन्छ। जसले छाला र आँखालाई नोक्सान गर्नुको साथै अन्य संवेदनशील अंगमा असर पुर्याउँछन्। वर्सेनी फागु पर्वमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेका घटना पनि सुनिन्छन्। रंगहरूको मात्र कुरा नभएर लोलामा विभिन्न किसिमका ढलको पानी, डढेको मोबिल, ग्रिज जस्ता हानिकारक पदार्थको प्रयोग हुने गर्दछ। यो झनै जोखिमपूर्ण हो।
रासायनिक रंग लगायतको उपयोग स्वास्थ्यका लागि सकारात्क मानिँदैन। बजारमा पाइने रंगमा माटो, चुन, सिसा, मर्करी जस्ता विभिन्न रसायन लगायत हानिकारक तत्व मिसिएको हुन्छ। जसले गर्दा आँखा बाहिरको छालाको एलर्जी हुने, चिलाउनुका साथै आँखा रातो हुने, सुक्खा हुने, बिझाउनेदेखि लिएर आँखामा घाउ समेत हुन सक्छ।
घाउ निको नभई आँखा पूर्ण रूपमा बन्द पनि हुन सक्छ। अझ अहिलेको अवस्थामा जमघट गर्ने, रंङ दल्ने खालका क्रियाकलापहरू गर्नाले कोभिड संक्रमणको जोखिम उच्च हुन सक्ने सम्भावना देखिन्छ।
सकेसम्म होलीमा रंग खेल्दै नखेल्नु, यदि खेल्नु परेमा रासायनिक रंगको प्रयोग नगरिकन सुरक्षित किसिमका सुगन्धित घरयासी सामग्रीहरूको मात्र प्रयोग गरि सानो टिका लगाएर मनाउने गर्नुपर्छ।
रंग लगाइसकेपछि अनुहार पखालिहाल्नु पर्दछ। यदि आँखामा रंग परेको खण्डमा तुरुन्तै सफा पानीले आँखा धोइहाल्ने तर, मिच्नु चाहिँ हुँदैन। त्यसैगरी, लोला हान्ने जस्ता क्रियाकलापले गर्दा आँखामा जोडसँग भित्रि चोट लाग्ने,आँखाभित्र रगत जम्ने,आँखाको सम्वेदनशील भागहरूमा हानी पुग्नुका साथै आँखाको पर्दा फाट्ने सम्भावना हुन्छ।
आँखामा रंग परेको खण्डमा लगातार सफा पानीले पखाल्दा पनि बिझाउने, रातो हुने, आँसु आउने तथा दृष्टिमा कमि हुने समस्या आएमा तुरुन्तै नजिकको आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा सम्पर्क गर्नुपर्दछ। सानोतिनो लापरवाहीले गर्दा आँखा पूर्ण रूपले खराब हुन सक्दछ।
फागु मनाउँदा ख्याल गर्नुपर्ने मुख्य कुराहरू :
• रासायनिक रंगको प्रयोग गर्दै नगर्ने र बच्चाहरूलाई रंगको पहुँचबाट टाढा राख्ने
• कुनै किसिमको एलर्जी भएका व्यक्तिले रंगको प्रयोग नगर्ने
• रंग पखाल्ने बेला आँखा पूर्ण रूपमा बन्द गरि मनतातो पानीको प्रयोग गर्ने
• रंग खेल्नुपूर्व क्रिम वा तेलको प्रयोग गर्ने
• रंग-पानी खेल्दा भुँई चिप्लो हुने हुँदा संयम भएर हिँड्ने
• चश्मा वा आँखा सुरक्षाका साधनहरूको प्रयोग गर्ने
अन्त्यमा, चाडपर्व, रितिरिवाज, संस्कृति जोगाउनु र आफ्नो संस्कारलाई कायम गर्नु सबैको अधिकार हो। हरेक चाडपर्वले मानिसको समग्र स्वास्थ तथा विकासमा केही न केही योगदान पुर्याइरहेको हुन्छ। यसको महत्व र यसलाई निरन्तरता दिनु सबैको कर्तव्य हो।
तर, सामाजिक, आर्थिक तथा अन्य क्षेत्रमा भएको रुपान्तरणसँगै परिवर्तन र परिमार्जन जरुरी छ। एकातिर कोभिड-१९ को चपेटामा परेको बेला अर्कोतर्फ होलीमा हुने नकारात्मक व्यवहारले थप जटिलता उत्पन्न गराउन सक्दछ। यस्तो अवस्थामा सबैजना संयमित भई चाडपर्व मनाऔं। आँखाको साथसाथै आफ्नो शरीरको पनि ख्याल गरौं। नियमित रूपमा सफा पानीले आँखा तथा हात मुख धुने गरौं। कोभिड-१९ हटिसकेको छैन। होलीले कोभिड-१९ संक्रमणलाई उच्च बनाउन सक्दछ। सबैजनाले आ-आफनो क्षेत्रबाट सावधानी अपनाऔं।
लेखक भण्डारी श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा विगत १२ वर्षदेखि नेत्र सहायकको रूपमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।