लिस्बन – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ। बार्सिलोनाले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनलाई १–० ले हरायो।
बार्सिलोनाका फरवार्डद्वय लिओनल मेसी र लुइस सुआरेज चल्न सकेनन्। बार्सिलोनाले उपहार गोलमा जित हात पारेको हो। खेलको ४९ मिनेटमा लिस्बनका डिफेन्डर सेबास्टियन कोटेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो। सुआरेजको प्रहार रोक्ने क्रममा सेबास्टियनले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए।
पहिलो हाफमा मेसी र सुआरेजले पाएको सुन्दर मौका खेर फालेका थिए। जितपछि बार्सिलोना समूह 'डी' मा लगातार दोस्रो जितसहित शीर्ष स्थानमा उक्लियो। यहि समूहको अर्को खेलमा इटालियन च्याम्पियन युभेन्टसले ओलम्पिकासोसलाई २–० ले हरायो।
समूह 'सी' को खेलमा इंग्लिस च्याम्पियन चेल्सीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–१ ले हरायो। चेल्सीको जितमा अल्भारो मोराटाले ५९ तथा बाट्सुअयी दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे। त्यसअघि ४० मिनेटमा एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमा गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। समूह 'सी' कै खेलमा रोमाले क्वाराबागलाई २–१ ले हरायो। समूहमा चेल्सीको ६ अंक छ भने रोमाको ४ तथा एट्लेटिकोको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।