काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिइने बताएका छन्। मंगलबार नेपाल लाइभसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
‘समर्थन फिर्ता लिने निश्चित कुरा भइहाल्यो। कहिले समथर्न फिर्ता लिने भन्ने कुरा मात्रै हो?,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले हामीले परिस्थितिको आकलन गरिराखेका छौं। अब छिट्टै निर्णयमा पुग्नेछौं।’
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गरेको विषयमा कांग्रेस र जनता समाजवादी पार्टीले प्रश्न गर्न थालेका छन्। फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पार्टी ब्युँतिएपनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन ढिलाइ गरेपछि नयाँ सरकारको ढोका नखुलेको रूपमा अर्थ्याउन थालिएको छ।
यसअघि फागुन २३ गते अदालतले रिट निवेदकले मागदाबी गरेको भन्दा पर गएर राजनीतिक फैसला गरेको भन्दै पुनरवलोकनमा जाने निर्णय भएकोसमेत उनले बताए। ‘हामी पुनरवलोकनमा जाने नै हो। नीतिगत रूपमा निर्णय पहिले नै गरेका थियौं। ठोस रुपमा एक/दुई दिनमै पुनरवलोकनमा जान्छौं,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।