काठमाडौं- एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले शनिबारको संसदीय दलको बैठकमा सहभागिता नजनाई ५ बुँदे पत्र बुझाएको छ। बालुवाटारमा एमाले संसदीय दलको बैठक बसिरहेको बेला नेपाल-खनाल पक्षका तीन सांसदले पत्र बुझाएका हुन्।
पत्र बुझाउन सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका हुन्। उनीहरु पत्र बुझाएर बैठकमा सहभागी नभई फर्किएका थिए।
पत्रमा पछिल्ला दिनमा ओलीको सक्रियतामा गरिएका निर्णयहरुको वैधानिकतामा प्रश्न उठाइएको छ। साथै, बैठक बस्ने स्थानको विषयमा पनि प्रश्न उठाइएको छ।
'संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद् भवनमा हुने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पद्धति र अभ्यास रहँदै आएको छ,' पत्रमा भनिएको छ, 'कुनै विशेष परिस्थिति आइपर्दा मात्र पार्टी कार्यालयमा पनि त्यस्तो बैठक हुने गरेको छ। यस्तो स्थापित पद्धति र अभ्यासविपरीत प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बोलाउने कार्य उक्त पद्धति र अभ्यासविपरीत मात्र हुने नभई पार्टीमा गम्भीर राजनीति, नीति र संगठनसम्बन्धी गम्भीर मतभेद र विवाद उत्पन्न भइरहेका बेला बैठकलाई प्रभावित हुनेगरी विधान, विधि र पद्धतिअनुरुप सञ्चालन गर्ने काममासमेत अवरोध सिर्जना हुन्छ।'
पत्रमा विधान, विधि, पद्धति, प्रक्रिया र स्थापित अभ्यास अनुरुप आयोजना हुने संघीय संसदीय दलको बैठकमा उपस्थित भई एमालेलाई संघीय संसद्मा एकताबद्ध रुपमा अघि बढाउन कटिबद्ध रहेको भनिएको छ।
यस्तो छ नेपाल-खनाल पक्षले बुझाएको पत्र:





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।